"कालापथर: जहाँ हावा बोल्छ, र सूर्यास्त सुन्छ"

 

"शून्यतासँगको भेट — नाम्चेबाट कालापथरसम्मको यात्रा"


कहिलेकाहीँ यात्रा गन्तव्य होइन,

आत्मासँगको चुपचाप संवाद बन्छ।


नाम्चे बजार — सपनाको थालनी

नाम्चे बजारमा हिउँको चिसो हावाले मेरो मुटुको ढुकढुकीसँग समवाय खेलिरहेको थियो। अगाडि हिमाल थियो, पछाडि सहरको आवाज। तर म एकपल्ट फेरि आफैँसँग भेट्न हिँडेको थिएँ।


रातभर बत्तीहरूले झिलिमिली भएको नाम्चे, बिहान बिहान घामको पहिलो किरणमा सुनौलो बन्ने। यति उचाइमा पनि मानिसहरूको मुस्कान तातो थियो, याकको घण्टीमा लय, अनि हरेक पाइला साहस।



टेङबोचे — मौनता र मन्त्र

अर्को बास टेङबोचेमै। विहान बिहान गुम्बाबाट आउने मन्त्रहरूको धुनले आत्मालाई स्पर्श गर्‍यो। मन्दिरको छेउबाट अमादब्लम झुल्किँदै गर्दा यस्तो लाग्थ्यो — स्वर्गले मुस्कान दिइरहेको छ।


हिमाल नजिकिँदै गए तापनि डर कम र शान्ति बढी भइरहेथ्यो। यो यात्रा अब म बाटोमा थिएँ भने होइन — बाटो नै मभित्रको खोजमा थियो।


डिङबोचेदेखि लोबुचे, अनि गोराशेप

डिङबोचेको उचाइले श्वास अलि गाह्रो बनायो, तर दृढ निश्चयले पाइला अघि बढिरह्यो। ल्यान्डस्केप बिस्तारै कठोर हुँदै गयो — हरियाली हरायो, तर भावना अझ गहिरिए।

लोबुचेपछिको बाटो चट्टान र हिमनदीले भरिएको थियो। गोराशेप पुगेपछि अन्तिम गन्तव्य दुईवटा थिए:



एभरेष्ट बेस क्याम्प (५,३६४ मि)

कालापथर (५,५४५ मि) — जहाँबाट बिहानै माउण्ट एभरेष्टको सूर्योदय हेर्न पाइन्छ।


कालापथर — आत्माको शिखर



"कालापथरको शिखरमा उभिएर मैले आमा र  मेरो साथीको नाम लेखें — हावा, हिमाल, र मेरो मुटुको गहिराइबाट।

त्यो कुनै साधारण लेखाइ थिएन।

त्यो मेरा भावना, सम्झना र प्रेमको अमिट छाप थियो।

हावाले त्यो नाम छुन खोज्थ्यो,

र हिमालहरूले त्यो नाम जस्तो लाग्थ्यो — अब सदाका लागि त्यहाँ रहने छ ।

कालापथर पुग्दाको क्षण

दिउँसोको झलमल्ल घाममा म कालापथरको शिखरतिर पुग्दै थिएँ। शरीर थाकिसकेको थियो, सास गह्रिएको थियो, तर मन अडिग। शिखरतिरको अन्तिम पाइला हिँड्दा,
हावा त यति तीव्र थियो — मानौं आकाश नै चिच्याइरहेको हो।

माथिबाट उडेर आउने हिउँका चिहानजस्ता फोक्साहरू अनुहारमा लाग्थे।
टाउकोको टोपी समात्नुपर्थ्यो, शरीर झुकाएर हिँड्नुपर्थ्यो,
तर त्यो क्षणमा पनि म मुस्कुराइरहेको थिएँ।
किनभने त्यही हावामा मैले लेखेको थिएँ —
आमा र  साथीको नाम कालापथरको स्टिल रडमा, कालजयी सम्झनामा।






------

यात्राको जानकारी:


शुरुवात बिन्दु: नाम्चे बजार


प्रमुख गन्तव्यहरू: नाम्चे → टेङबोचे → डिङबोचे → लोबुचे → गोराशेप → कालापथर


समय अवधि:  ५-७ दिन (नाम्चेदेखि फर्किनेसम्म)


उचाइ: कालापथर — ५,५४५ मिटर


सुझाव:


एक दिनको ‘अक्लिमेटाइज’ अनिवार्य गर्नुहोस्।


पर्याप्त पानी पिउनुहोस्।


‘एएमएस’ (Altitude Sickness) प्रति सजग रहनुहोस्।


हिमाल चढ्दा मैले संसारलाई जितिनँ,

मैले आफ्नो मौनता जितेँ।


कालापथर मेरो शिखर होइन थियो,

तर आत्माको ऐना अवश्य बन्यो।

Comments

  1. Amazing, call of the void ✌️

    ReplyDelete
  2. नगए नि गएको जस्तै आभास दिने..!
    मनै आनन्द हुने...!!!
    #आत्मिय सर लाई न्यानो अविवादन अनि सम्झना 🙏

    ReplyDelete

Post a Comment

Popular Posts